७५ सालमा नयाँशक्ति सरकारमा पुग्छ


Rameshower khanal
पूर्वअर्थसचिव एवं नयाँ शक्ति पार्टीका अन्तरिम केन्द्रीय सदस्य रामेश्वर खनालले आगामी ०७५ साल मंसिरभित्र हुने आम निर्वाचनमा आफ्नो दल सरकारमा पुग्ने दाबी गरेका छन् ।
खनाल डा. बाबुराम भट्टराईको नेतृत्वमा आइतबार घोषणा गरिएको नयाँ शक्तिका ३५ अभियन्ता मध्येका एक नेता हुन् । उनले अब आफ्नो पार्टी नेपाली कांगे्रस, एमालेसँग माग पेश गर्दै रत्नपार्कमा ढुंगा हानेर नबस्ने बताए । आगामी चुनावबाटै सरकारमा उपस्थिति जनाउने उनले बताए ।
पार्टीको नाम वा सिद्धान्तमा ‘वाद’ झुण्ड्याएका पुराना पार्टीहरु अब संकटमा पर्ने पूर्वसचिव खनालले बताए । नेपाली कांग्रेस परित्याग गरेर नयाँ शक्ति पार्टीमा लागेका खनालसँग अनलाइनखबरका लागि पुष्प दुलाल र नविन अर्यालले गरेको कुराकानी:
अर्थसचिवबाट राजिनामा दिएपछि तपाई ०७० भदौ १० गते नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । अहिले औपचारिकरुपमै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्तिमा लाग्नुभयो । नयाँ शक्तिमा तपाईलाई केले लोभ्यायो ?
लोभ्यायो र नयाँ शक्तिको सदस्य बनेको भन्ने महत्वपूर्ण विषय होइन । नयाँ विचारधारा नेपालको आवश्यकता हो भन्ने पहिलेदेखि नै महशुस भएको थियो । त्यही महसुस गरेर नै अहिले भइरहेका राजनीतिक दलहरुमा रुपान्तरण गरेर राजनीतिक दलहरु जनतालाई सेवा प्रवाह गर्न सक्ने सामथ्र्य विकास गर्न भनेर त्योबेला म नेपाली कांग्रेसमा प्रवेश गरेको थिएँ ।
अहिले भइरहेका सबै राजनीतिक दलहरुको संरचना, नीतिगत आधार, विचारधारा सबै आन्दोलनकारीको जस्तो छ । केही कुरा पूरा गर्नका निमित्त आन्दोलन अथवा युद्ध गर्ने ढाँचामा छ । नेपाली कांग्रेस पनि लोकतन्त्र प्राप्तिका लागि विभिन्न आन्दोलन गरेर आएको हुनाले अहिलेसम्म त्यही संरचनाबाट मुक्त हुन सकेको छैन ।
त्यसैगरी, नेकपा एमाले, एनेकपा माओवादी र त्यसपछि खडा भएका अन्य सबै राजनीतिक दलहरुको संरचना उस्तै छ । कुनै पनि राजनीतिक दलको धारणा सरकारमा गइसकेपछि जनतालाई सेवा गरेर प्रभाव पार्नुपर्छ भन्ने छैन । जनतासँग सीधै उपस्थित हुनुभन्दा विभिन्न किसिमका भातृ संगठन, दलालहरु खडा गरेर तिनको माध्यमबाट गतिविधि अगाडि बढाउने भूमिगतकालीन शैली दलहरुमा अझै विद्यमान छ ।
अर्को कुरा, कुनै पनि राजनीतिक दलमा नीति निर्माणमा गर्नुपर्ने अध्ययन, अनुसन्धान र विचार बिमर्श पर्याप्त हुँदैन । नेताले फ्याट्ट बोलिदिने, त्यसपछि बोलिहालियो क्यारे, यही त हो नि हाम्रो पार्टीको नीति भन्ने प्रवृत्ति छ ।
उच्चस्तरमा छ भनिएको भारतसँगको सम्बन्धमा अहिले एकाएक गिरावट आयो । शून्यको लेभलमा पुग्न गयो । चीन र भारतका बीचमा विकास हुँदै गरेको आर्थिक र राजनीतिक सम्बन्ध र अन्तराष्ट्रिय परिदृश्यमा चीन र भारतले एक किसिमको उदीयमान शक्तिका रुपमा संयुक्तरुपमा लैजानु पर्छ भनेर सहकार्य गरिरहेको कुरालाई हामीले पूर्णरुपमा नजरअन्दाज गरेर भारततिरबाट संकट आउँदा चीनबाट राहत आउँछ कि भन्ने धारणा अहिले पनि राजनीतिक वृत्तमा छ । यस्तो किन भयो भन्दाखेरि राजनीतिक दलहरुले आफ्नो नीति निमार्णका निमित्त अध्ययन, अनुसन्धान र बिचार बिमर्श गर्दै गरेनन् ।
नेपाली कांग्रेसमा यस्तो छैन । त्यहाँबाट परिवर्तन गर्न सकिन्छ भनेर म कांग्रेसमा गएको थिएँ । तर, कांग्रेसमा त्यो संस्कार हुन सकेन । दलहरुमा नयाँपन भित्र्याउने, नयाँ ज्ञान भएका मान्छेहरुलाई लिएर आउने र उनीहरुलाई दलको अंग बनाउने प्रवृत्ति पनि देखिएन । दलभित्र लडेका, ढुंगा हानेका, प्रहरीबाट कुटाइ खाएको खत देखाउन सक्ने मान्छेलाई त्यही आधारमा दलभित्र अवसर दिने संस्कार रहेछ ।
बाहिरबाट दलमा प्रवेश गर्न चाहने व्यक्ति पार्टीमा प्रवेश गर्न चाहन्छ भने त्यहाँ प्रवेशिका परीक्षा पास नगरेकोसँग समानरुपमा त्यो उच्च ज्ञान भएको दक्ष व्यक्तिले प्रतिस्पर्धा गर्नुपर्ने रहेछ । म त कांग्रेसको ढोकाबाट भित्रै छिर्न पाइँन ।
अहिलेको राजनीतिक संस्कारबाट देशले निकास पाउँदैन, त्यसका लागि नयाँ राजनीतिक विकास गर्नुपर्छ भन्ने कुरा मैले मात्रै होइन कि पुराना राजनीतिक दलका शीर्षस्थ नेताहरु नै भन्नुहुन्छ । त्यो सन्दर्भमा म नयाँ शक्तिको शुभेच्छुक हो । जहाँसम्म सक्रिय सहभागिताको कुरा छ, त्यसका बारेमा अहिले केही पनि व्याख्या नगरुँ ।
नयाँ शक्तिको घोषणासभामा तपाईको ‘सिटिङ लेभल’ हेर्दा तपाई सेकेन्ड म्यानजस्तै देखिनुहुन्छ । तर, तपाईचाहिँ अहिले पनि शुभेच्छुकमात्रै भन्दै हुनुहुन्छ । तपाई शुभेच्छुकमात्रै हो भनेर कसरी पत्याउने ?
कुनै पनि किसिमको संगठन निर्माण गर्ने क्रममा संगठनका केही अभियन्ताहरु हुन्छन् । यो संगठनको प्रारम्भिक चरणको अभियन्ता पनि म होइन, अभियन्ताहरुले संगठन निर्माण गर्नका लागि समाजमा रहेका सबै किसिमको क्षमता भएका अभियानमा सामेल गराएका हुन् ।
तपाई कांग्रेसमा लागेर अवसर नपाएपछि नयाँ शक्तिमा लागेको भन्ने आरोप छ नि ?
म कांग्रेसमा अवसर खोजेर गएकै थिइँन । राजनीतिमार्फत नीति निर्माणको सुपि्रम लेभलमा पुगेर गतिलो नीतिहरु बनाएर देशको विकासमा काम गर्न सकिन्छ कि भन्ने मेरो धारणा थियो । यसका लागि मैले सभासद हुने अवसर दिनुस, टेष्ट हुनका लागि टिकट पाउँ भनेको मात्रै भनेको हुँ । त्योबाहेक मैले केही अवसर खोजिँन । महेश आचार्यले कर गरेर चुरेको नेतृत्व लिनुपर्‍यो भनेपछि त्यहाँ नियुक्ति लिनुपर्‍यो ।
म विवेकशील नेपाली अभियानको शुभचिन्तक पनि हो । रविन्द्र मिश्रले सुरु गर्न खोज्नुभएको थियो, अझै पनि उहाँसँग सम्वादमै छु । उहाँले फ्लोर गर्न सक्नुभएन, बाबुराम जीहरुले फ्लोर गर्नुभयो । उहाँहरुले तपाई आउनुपर्‍यो भनेपछि यसतर्फ लागेको हुँ । नयाँ शक्ति आवश्यक छ भन्ने मलाईमात्र नभई धेरैलाई लागेको छ । देशको विकास गर्ने, डेलिभर गर्ने खालको शक्ति आवश्यक थियो ।
तर, नयाँ शक्ति भने पनि अनुहार त सबै पुरानै देखिन्छन् । यो शक्तिले नीतिगत र व्यवहारिकरुपमा के कस्ता नयाँ काम गर्ला ?
पत्रकार सम्मेलनमा वितरण गरिने प्रेस विज्ञप्ति तयार गरिसकेपछि सम्पादन गर्ने जिम्मेवारी मलाई पनि दिइएको थियो । नयाँ र युनिक हुनुपर्छ, अरु दलमा भएकै कुराहरुलाई दोहोर्‍याएर गर्ने हो भने नयाँपन हुँदैन भन्ने हाम्रो सोच हो ।
नयाँ शक्तिले समावेशी र सहभागितामूलक लोकतन्त्र भनेको छ, जुन अरु दलहरुले भनेका छैनन् । र, यो समावेशी निगाहको समावेशी होइन । निगाहको समावेशी त पञ्चायतकालमा पनि थियो । बालाराम घर्ती मगर, हिरालाल विश्वकर्मा, मृगेन्द्र सिंहलगायत राज्यसत्तामा थिए त । तर, यो अभियानको समावेशिता भनेको स्वतस्फूर्तरुपमा हुन्छ । अन्य राजनीतिक दलहरुमा टिकट दिँदा माथिबाट तल जान्छ । तर, नयाँ शक्तिमा तलबाट माथि हुँदै आउँछ । अभियानका सदस्यहरुले नै चुन्छन् ।
- See more at: http://www.onlinekhabar.com/2016/01/379417/#sthash.EcPcZbwy.dpuf

Share this

Related Posts

Previous
Next Post »